डोटीमा रोपाइँ सुरु भए पनि रासायनिक मल अभाव




डोटी, ३ असार- डोटीमा रोपाइँ सुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै त्यँहाका किसानहरु आक्रोशित बनेका हुन् ।



किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ ।


प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका वडा नं. १ का चेतबहादुर बोगटीले बताए । यस वर्ष समयमै वर्षात् सुरु भएकाले विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ ।
जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको किसानको आरोप छ । नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको बताएको छ ।



