

कञ्चनपुर- सघीय सरकारसंग कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र संचालनको लागि बेदकोट नगरपालिकाले माग अघी सारेको छ । बेदकोट स्थानीय सरकारले नगरपालिका २ र ३ मा बन्ने भनिएको दैजी छेला औद्योगिक क्षेत्र शिघ्र संचालनको माग अगाडी सारेको हो ।



शिलान्यास भएको ३० महिनासम्म पनि कार्यान्वयनमा नआएको भन्दै स्थानीय सरकारले संघीय सरकारको ध्यानाकर्षण गराएको छ । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहरा, निवर्तमान मेयर अशोक चन्द, भीमदत्त नगरका मेयर पदम बोगटी सहितको टोलीले संघीय सरकारका मन्त्री सहितका निकायलाई ज्ञापन पत्र बुझाउँदै छेला औद्योगिक क्षेत्र संचालनका लागि ध्यानाकर्षण गराएका हुन् ।


बुधबार बेदकोटका मेयर भोजराज बोहरा निवर्तमान मेयर अशोक चन्द, भीमदत्त नगरका मेयर पदम बोगटी सहितको टोलीले वन तथा वातावरणमन्त्री बिरेन्द्र महतो, परराष्ट्रमन्त्री एनपी साउद, औद्योगिक विकास केन्द्र कम्पनीका सचिव भुषण उपाध्याय सहितको टोलीहरु सँग भेट गरी यथाशिघ्र औद्योगिक क्षेत्र संचालनको माग अघि सारेका हुन् । बेदकोट नगरका नगर प्रमुख भोजराज बोहराले संघीय वनमन्त्री, परराष्ट्रमन्त्री सहितका सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै काम अगाडी बढाउन माग गरिएको बताए ।