

धनगढी- कैलाली कारागारमा कैदी छोरालाई भेट्न पुगेकी आमा ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । जिल्ला कारागार कैलालीमा लागु औषध मुद्दामा कैद भुक्तान गरिरहेका २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न पुगेकी धनगढी उपमहानगरपालिका–३ मिलन चोककी ५० वर्षीय कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार आइतबार दिउँसो २ बजे कैलाली कारागारमा सामान चेकजाँच गर्ने क्रममा कमलाले बिस्कुट भित्र लुकाई ल्याएको ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको बताए ।


सुरक्षामा खटिएका प्रहरी कर्मचारीले बिस्कुट भित्र उक्त लागु औषध भेटेका थिए । कमलादेवी अवस्थीसहित लागु औषध ब्राउन सुगर नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याइएको छ ।