घोडाघोडी- कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता भएका छन्। घोडाघोडी नगरपालिका–१, सुखडमा नौ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन्। फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना सोही दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ।




कोहलपुर पञ्चमुखी एकेडेमीमा कक्षा ९ मा अध्ययनरत सुशील बस्नेत र राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा कक्षा ९ मा अध्ययनरत तपसिल जोशी साथी साथी हुन्। सुशीलका बुवा नवराज बस्नेतले दुवै जना महोत्सव हेर्न सुखड गए पनि साँझ घर नफर्केको बताए । बस्नेतले फागुन २७ गते इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिए पनि अहिलेसम्म कुनै अत्तोपत्तो नपाइएको बताए । सुशीलको आमा सुनिता बस्नेतले जहाँ जाँदा पनि छोरा आफैँसँग जाने गरेको बताए ।


उनले भने, ‘कुनै सङ्कटमा पो छ कि, सम्पर्कमा मात्र आइदिए पनि हामी ढुक्क हुने थियौँ।’ घोडाघोडी नगरपालिकाका–१, सुखडका धनराज जोशीका दुई छोरामध्ये तपसिल जेठा छोरा हुन् भने नवराज बस्नेतका तीन छोरामध्ये सुशील माइला छोरा हुन्।

