भारतले पहुँच मार्ग निर्माण गर्न खोल्यो ट्र्याक

महेन्द्रनगर- राष्ट्रिय गौरवको आयोजना दोधारा चाँदनी–सुक्खा बन्दरगाह निर्माण स्थलसम्म पहुँच मार्ग निर्माणमा भारतीय पक्षले तीव्रता दिएको छ । चार लेनको उक्त सडक तीन किलोमिटर ८२८ मिटर रहेको छ ।

भारतको मुख्य राजमार्गसँग निर्माणाधीन सुक्खा बन्दरगाह र महाकालीमा बनेको चार लेनको पुलसहितको सडक जोडिने बताइएको छ ।पहुँच मार्ग निर्माणका लागि ट्र्याक खोल्ने काम सकिएको भारत सरकारका राष्ट्रिय राजमार्ग प्राधिकरण लिमिटेडका जनरल मेनेजर अनिलकुमार मौर्याले बताए ।

Navadurga sun
Godawari sandesh

राष्ट्रिय राजमार्ग प्राधिकरणले आफँै निर्माण गरिरहेको राष्ट्रिय राजमार्गसँग जोड्न भारतको चक्करपुरबाट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१, गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँच मार्गको ट्र्याक खोल्ने काम तीव्र पारेको हो ।

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्र्याक खोलेको र यसले बन्दरगाह बन्ने बाटोमा एउटा इँटा थपिएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले बताए ।

दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ पहुँच मार्ग क्षेत्रमा पर्ने भारतीय वनका दुई हजार २६२ रुख काट्नु परेको मेनेजर मौर्याले बताए ।

Dadeldhura hospital

‘मार्च ३ बाट १८ महिनामा सक्ने गरेर काम सुरु गरेका छौँ । अहिले रुख काट्ने र ट्र्याक खोल्ने काम सकिएको छ । समयमै काम पूरा हुन्छ,’ उनले भने, ‘पहुँच मार्गमा पर्ने २६२ रुख काटेर ट्र्याक खोलेका हौँ ।” ट्र्याक खोलिएसँगै अब पहुँच मार्ग कालोपत्रेको काम अगाडि बढ्ने प्राधिकरणका मेनेजर मौर्याले बताए ।

नेपाल सरकारले दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने कार्य तीन वर्षभित्र सक्ने तयारी गरेको छ । दुई दशक अघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको काममा छिट्टै ‘एमओयु’ हुने आश्वासन केही दिनअघि कञ्चनपुर आएका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले पत्रकार सम्मेलनमा बताएका थिए ।

सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्न भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनले भने, ‘संरचना भारतले बनाउने समझदारी भइसकेको छ । अहिले इआइए गर्ने काम अन्तिम चरणमा छ ।’ अब छिट्टै बन्दरगाह निर्माण सम्पन्न हुँदै छ ।

सो आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब २८० बिघा जमिन प्रयोग हुने छ । यसअघि दोधारा चाँदनी–७, कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो तर स्थानीयले विरोध गरेपछि बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ मा पर्ने दुईवटा सामुदायिक वनलाई प्रस्ताव गरिएको हो ।

सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुलको हालै निर्माण पूरा भइसकेको छ । यसका साथै नेपालतर्फको पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको ७.८ किलोमिटर पहुँच मार्ग निर्माण भइरहेको छ । सो सडकको एक हजार दुई सय मिटर मात्र पक्की गर्न बाँकी छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पूरा भएमा सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ । दोधारा चाँदनी नाकाबाट भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुर सबैभन्दा नजिक पर्छन् । यहाँबाट भारतको राजधानी नयाँदिल्ली करिब तीन सय किलोमिटर र रुद्रपुर ९७ किलोमिटरको दूरीमा पर्छन् । गोरखापत्रबाट

Loading...