

कञ्चनपुर- कञ्चनपुरको बेदकोट नगरपालिकाले सिद्ध शिव लिङ्गेश्वरधामको विकासका लागि सात करोडका पूर्वाधार निर्माण गर्न लागेको छ । बेदकोट-४ स्थित चुरे पहाडको फेदमा सिद्ध शिव लिङ्गेश्वरधाममा उक्त पूर्वाधारहरु निर्माण गर्न लागिएका हुन् ।


धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले केन्द्र सरकार र बेदकोट नगरपालिकाले संयुक्त रुपमा संरचना निर्माण गर्न ठेक्का सम्झौता गरेका छन् । बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यहाँको पर्यटक विकासका लागि सात करोड बजेट विनियोजन गरेर पूर्वाधार निर्माणको काम अघि बढिसकेको बताए ।



‘नगरपालिकाले शिव लिङ्गेश्वर धाम र बेदकोट तालको विकास गर्न विभिन्न संरचना बन्ने क्रममा छन’, उनले भने, ‘हामीले बेदकोट नगरभित्रका पर्यटकीयस्थलको विकास प्राथमिकतामा राखेका छौँ ।’ अहिले यहाँ केन्द्र सरकारले ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत हुने गरी ७ करोड रुपैयाँमा प्रोजेक्ट सञ्चालन भइरहेको छ ।
भूक्षय भइरहेको ठाउँमा तटबन्ध निर्माण, बाटो विस्तार, सडक कालोपत्रे र बिजुली बत्ती पुगाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका इन्जिनियर शतिस शामीले ७ करोड रुपैयाँ बजेटमा यहाँ पार्किङस्थल, मन्दिर निर्माण, कफी हाउस निर्माण र विवाह मण्डप बनाउने काम अघि बढेको बताए । ‘दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी जोशी विल्र्डससँग ठेक्का सम्झौता भइसकेको छ’, उनले भने, ‘यहाँ आवश्यक सबै संरचना निर्माण गरिने छन् ।’
यस ठाउँको विकास बेदकोट नगरपालिकाले यहाँ सेल्फी प्वाइन्टको निर्माण गरेको छ । शिव लिङ्गको ठीक अगाडि पर्यटकका लागि फोटो खिच्नका लागि सहज होस् भनेर सेल्फी प्वाइन्टको निर्माण गरेको हो । सेल्फी प्वाइन्टबाट सेल्फी खिच्दा पछाडि शिव लिङ्गको तस्बीर देखिन्छ । नगरपालिकाले २०७४ सालमा २५ लाख रुपैयाँमा यो सेल्फी प्वाइन्ट निर्माण गरेको हो । लिङ्गेश्वरधाम पर्यटकको आकर्षणको केन्द्र बिन्दु बन्दै गएको छ ।