काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल प्रदेश १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।




आज (मंगलबार) दिउँसो प्रदेश १ का पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सामान्यतया प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।


मंगलबार राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

