धनगढी- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।




प्रतिनिधिसभातर्फ रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको बाजुराको चुनावी नतिजामा कांग्रेस उम्मेदवार पाण्डेले सहज जित निकालेका हुन् ।एमालेमा केपी ओली निकट मानिएका स्थायी कमिटी सदस्यसमेत रहेका थापा यसअघि पनि पटक पटक चुनाव लड्दै आएका नेता हुन् ।


थापा ०७० को संविधानसभामा जितेर मन्त्री समेत भएका थिए । कांग्रेसका पाण्डे भने यसअघि संविधानसभामा समानुपातिकतर्फ र राष्ट्रिय सभा सदस्यमा गरी दुई पटक सांसद भएका हुन् । उनको यसपटक पहिलो प्रत्यक्ष चुनावी प्रतिस्पर्धा हो ।

