


व्याँस गाउँपालिका–१ खलंगाका स्थानीय आफ्ना पशुचौपायासहित गाउँ पुग्न थालेका छन्। छ महिना गर्मी छल्न तथा खेतीपाती भित्र्याउन र नयाँ बाली लगाउन भन्दै उनीहरु तिंकर गाउँ पुगेका हुन्।


व्यासी सौका समुदाय सदरमुकाम खलंगाको गर्मी छल्न गाउँ पसेका हुन्। गत मङ्सिरमा ढोकामा ताला लगाएर सदरमुकाम झरेका तिंकरीको ताला छ महिनापछि खुल्न थालेको हो।‘पाँच परिवार तिंकर पुगिसकेका छन्,’ स्थानीय दानसिंह तिङ्करीले भने, ‘३५ परिवार खलंगाबाट मंगलबार हिँडेका छन् उनीहरु बाटोमा छन्।’ सदरमुकाम खलंगाबाट पाँचदेखि छ दिनमा तिंकर गाउँ पुगिन्छ।


भारतीय प्रशासनको अनुमति लिएर स्थानीय हिमाली गाउँतर्फ उक्लिएका हुन्। खलंगाबाट हिँडेर पहिलो दिनमा दोबाट, दोस्रो दिन सानो जाङ्ला, तेस्रो दिन गर्वाधार, चौथो दिन बुदि, पाँचौँ दिन छाङ्गरु र छैँटो दिन तिंकर पुगिन्छ। पशुचौपायासहित कुञ्चा सर्दा छ दिन लाग्छ। तर, हाल स्थानीय भने पाँचरछ घण्टामै गाडीमा गाउँ पुग्ने गर्छन्।
भारतीय प्रशासनले अनुमति दिन ढिलाई गर्दा यो पटक बसाइँसराइ केही ढिला भएको स्थानीय बताउँछन्। गाउँ फर्किएपछि तरकारी बाली भित्र्याउने काम हुन्छ। साथै जेठमा यार्सागुम्बा संकलनको कामसमेत हुने भएपछि उनीहरु गाउँ फर्किएका हुन्।

तिंकर गाउँ चीनको सीमा नजिकैको गाउँ हो। तिंकर गाउँभन्दा आधा घण्टा माथि नेपाल प्रहरी बस्छ। छायालेकबाट चारदेखि पाँच घण्टाको दूरीमा नेपाल–चीन १ नम्बर सीमा स्तम्भ छ।
स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिंकर बस्छन् तर, तिंकरको छायालेकमा बस्दै आएको नेपाल प्रहरी भने अझै सदरमुकाम खलंगामै छ। यसअघि यहाँ बस्ने नेपाल प्रहरी पनि वर्षमा छ महिना मात्रै छायालेक बस्ने गर्दै आएको थियो। प्रहरी टोली तिंकरतर्फ जाने तयारीमा रहेको जनाइएको छ।
निर्वाचनको समय आउन पनि आठ दिन बाँकी छ। निर्वाचनको लागि मतदान केन्द्र पनि तिंकरमै तोकिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट हेलिकप्टरमार्फत प्रहरी तिंकर पठाउने तयारी भएको बताउँछन्।
‘हामीले प्रक्रिया बढाइसकेका छौँ’ उनले भने, ‘तर हेलिकप्टर कहिले आउँछ भन्ने एकिन भएको छैन।’
प्रहरीको छ महिनाको रासन, हातहतियार पनि लिनुपर्ने भएको हुँदा हेलिकप्टर माग गरिएको डीएसपी विष्टले बताए। विगतमा पनि हेलिकप्टरमार्फत पठाउने गरिएको थियो। विष्टका अनुसार प्रहरीलाई वैशाख २७ गते अगावै पठाउने गरि पहल भइरहेको छ।
छाङ्गरुमा भने गत वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी वर्षभरी बस्दै आएको छ। साथै, सशस्त्र प्रहरी टोली पनि छाङ्गरुमै छ। गत वर्ष सशस्त्र प्रहरीको छायालेकमा बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण गरिएको थियो। रासस





