


स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा गरिरहेका छन्।जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन र निजी आवासमा उम्मेदवारको निर्वाचन चिह्नअंकित प्रचार सामग्री टाँसिएका छन् ।


अटो रिक्सा, नीजि सवारी साधन, ढुवानीका साधनमा समेत उम्मेदवारको चुनाव चिह्नअंकित झण्डा राखिएका छन्। झलारी, दैजी, सुडा, महेन्द्रनगर, गुलरिया, बेलौरी, चवन्नी, आईबीआरडी लगायत बजार क्षेत्र र ग्रामीण क्षेत्रमा दलहरूले प्रचार सामग्री झुण्डाएका छन्।


यस्तै निर्वाचन चिह्न अंकित टोपी, लोगो सहितका व्याज लगाउने कार्य संगै बिक्री वितरण खुलेआम जारी रहेको छ। झण्डा र पर्चा समेत तोकिएको आकारभन्दा ठूला बनाई प्रचार–प्रसारमा प्रयोग भइरहेको छ।

यस्तै सामाजिक सञ्जालका वाल पनि प्रचार सामग्रीले रंगिएका छन्। उम्मेदवारले आफ्नो आधिकारिक पेजमा मात्रै प्रचार गर्न पाउने नियम रहेको छ। राजनीतिक दलका कार्यकर्ताहरूले आचार संहिताविपरीत सामाजिक सञ्जालमा उम्मेदवारका पक्षका प्रचार सामग्री राखेर प्रचार प्रसारलाई तीव्र बनाएका छन्।
राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, माक्स, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ।
आचारसंहिता पालना भए नभएको बारे अनुगमनका प्रभावकारी नहुँदा उल्लंघन बढेको मतदाता बताउँछन्। निर्वाचनमा सहभागी उम्मेदवारका समर्थनमा र्याली पनि निस्किरहेको छ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत मदन धामीले निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री अंकित झोला, लगायत जफत गरी उम्मेदवारलाई सचेत गराएको बताए। ‘आचारसंहिता कडाइका साथ पालना गराउन प्रतिबद्ध छौँ, उनले भने, ‘यसमा अझै कडाइ गर्छौँ। अनुगमन प्रभावकारी बनाउने कार्य भइरहेको छ।’
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानूनमा भएको व्यवस्था अनुसार जारी आचार संहिताविपरीत कार्य गरेको पाइए कारबाही हुने उनको भनाइ छ।





