समाजवादीले शुक्लाफाँटामा एक्लै चुनावी तयारी थाल्यो




कञ्चनपुर, ५ बैशाख- आसन्न स्थानीय तह निर्वाचनका लागि केन्द्रमा नेताहरू तालमेलको छलफल गरिरहेका बेला नेकपा एकीकृत समाजवादीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक्लै चुनावी तयारी थालेको छ । नगर प्रमुख पदमा माधव पन्त सहित हरेक पदमा उम्मेदवार छान्दै एकीकृत समाजवादीले एकल जस्तै गरी तयारी थालेको छ ।



गठबन्धनको चर्चा अनुसार शुक्लाफाँटामा प्रमुख पद नेपाली कांग्रेसले पाउने बताइन्छ । यस्तो बेला एकीकृत समाजवादी नगर कमिटीले सर्वसम्मत निणर्य गर्दै मेयरमा प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष माधव पन्त र उपमेयरमा जिल्ला कमिटी सदस्य सिर्जना भण्डारीलाई उम्मेदवार बनाएको छ । वडाध्यक्ष र सदस्यमा समेत पार्टीले उम्मेदवार सिफारिस गरेको छ ।


प्रमुख पदका उम्मेदवार पन्तले गठबन्धनमा सम्मानजनक स्थान पाइए सहमतिमै जान सकिने बताए । उनका अनुसार गठबन्धन सम्मानजनक हुनुपर्छ, त्यसो हुँदा मेयर, उपमेयर छाड्न तयार रहेको बताए ।
गठबन्धन स्रोतका अनुसार एकीकृत समाजवादीले शुक्लाफाँटामा मेयर र उपमेयर कुनै पनि पाउने सम्भावना छैन । मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रको सम्भावना रहेको जनाइएको छ । नेता पन्तको नेतृत्वमा शुक्लाफाँटामा एकीकृत समाजवादी आक्रामक प्रचारमा उत्रिएको छ । पन्त केही महिनायता शुक्लाफाँटामै बसेर गाउँगाउँसम्म पुगिरहेका छन् ।