बैतडीमा चितुवाको आतङ्क अझै रोकिएन
बस्तीमै पसेर चितुवाले पशुचौपायाको शिकार गर्न थालेपछि आतङ्क


बैतडी- बैतडीको पुरचौडीमा चितुवाको आतङ्क अझै रोकिएको छैन । जिल्लाको पुरचौडी नगरपालिकाका बस्तीमै पसेर चितुवाले पशुचौपायाको शिकार गर्न थालेपछि आतङ्क फैलाएको हो ।



पछिल्लो दुइ हप्ताको अवधिमा चितुवा (बाघ) ले बस्तीमा पसेर दैनिक रूपमा एउटै घरमा पालेका चार वटा बाख्रा मारेको पुरचौडी नगरपालिका वडा नं. ७ कोटिलाका पदम ऐरले बताए । बाघले बस्तीमै पसेर खसी, बाख्रा, कुकुर गरेर १२ वटा घरपालुवा जनावरको सिकार गरिसकेको ऐरले बताए ।


बैतडीका अधिकांश वनहरुमा डढेलो लागेको कारण चितुवाको यो आक्रमण भएको हुनसक्ने वन डिभिजन कार्यालय बैतडीले बताएको छ । डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशब पराजुलिले घरपालुवा जनावरको क्षति भएमा प्रति पशुचौपाया १० हजारका दरले राहत दिने व्यवस्था गरिएको बताए ।
चितुवाले बाख्रा खाएको हो भने, प्रहरी मुचुल्का र स्थानीय सामुदायिक वनको सिफारिस लिएर आए एउटा बाख्राको १० हजार क्षतिपूर्ती दिइने उनले बताए । चितुवाको आक्रमणबाट बच्न वनहरूमा डढेलो नलगाउन र लाग्न नदिन साथै सजक रहन डिभिजन वन कार्यालय बैतडीले आग्रह समेत गरेको छ ।



