कैलालीकाे गौरीगंगा नगरपालिकामा भूमिहिनको जग्गा नापिको काम सुरु





अत्तरिया, १३ चैत– कैलालीको गौरीगंगा नगरपालिकामा जग्गा नाप नक्साको काम सुरु भएको छ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउन आईतबार देखि नगरपालिकाले जग्गा नाप नक्साको काम शुरु गरेको हो ।


नगरपालिकाको वडा नं. १ चौमालाबाट शुरु भएको नाप नक्साको कामको नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले शुभारम्भ गरेका हुन् । नगर प्रमुख देउवाले नगरपालिकाका सबै वडामा लगत संकलन तथा अद्यावधिकको काम सम्पन्न भएसंगै जग्गा नापिको काम शुरु भएको नापी कार्य नगर क्षेत्रभरी गरेर भूमिहिनहरुलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने बताए।



उनले समयमै सम्पन्न हुनुपर्ने काम गत साल लगत संकलन भईसकेपछि सरकार परिवर्तन भएर आयोग समेत विगठन भई काममा ढिलाई भएको बताए । लगत संकलनमा नगरपालिका भित्र १२ हजार ५ सय जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको नगरप्रमुख देउवाले बताए ।
गत बर्ष भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गौरीगंगा नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच सम्झौता गरि नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय समेत स्थापना भएको थियो । यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग संग भएको सम्झौताको १ बर्ष पछि पुनः वर्तमान सरकारले गठन गरेको अर्को आयोग संग सम्झौता भएको थियो ।
यसअघिको भूमिसम्बन्धी समस्या समाधान आयोग शेर वहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट साउन १९ गते खारेज गरिएको थियो । भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि पुनः सम्झौता गरेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडी बढेको थियो ।
ओली नेतृत्वको सरकारले गठन गरेको आयोग मार्फत गौरीगंगामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम गरिएको थियो । गौरीगंगा नगरपालिकाले भूमिहिन, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको काम सुरु भएसंगै बषौँदेखि जग्गाधनी पूर्जा र जमिन विहिन नागरिक अब जमिनको स्वामित्व पाउने भएपछि हर्षित भएका छन ।



