धनगढीमा राष्ट्रिय भलिबल प्रतियोगिता : उपाधि त्रिभुवन आर्मी क्लबलाई

धनगढी, १२ चैत– त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसंगै आर्मीले नगद चार लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ ।

फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो । पहिलो र दोस्रो सेट २५-२३ र २५-२० ले जितेको आर्मीले तेस्रो सेट भने १८-२५ ले गुमायो । चौथो सेट २५-२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । त्यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई पराजित गरेको छ । गण्डकीले एपीएफलाई ३-१ को सेटले पराजित गरेको हो । तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कृत गरिएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ भए ।

उनले नगद १५ हजार प्राप्त गरे। यस्तै उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए ।

उनीहरुलाई जनही १० हजारसहित पुरस्कृत गरिएको आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए । प्रतियोगितामा तीन विभागिय र ६ प्रदेश गरी ९ टोलीको सहभागिता रहेको थियो ।

Loading...