राष्ट्रिय भलिबल प्रतियोगिताकाे उपाधिका लागि आर्मी र पुलिस भिड्ने
फाइनल खेल शनिबार बिहान ९ बजे हुने




धनगढी,११ चैत- कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।



शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली एपीएफलाई ३-१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । २५-२१ र २५-१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४-२६ ले गुमाएको थियो । चौथो सेट २५-१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । खेलका म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए ।


शुक्रबार बिहान नै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । २५-१६ र २५-१९ से पहिलो र दोस्रो सेट जितेको पुलिस क्लबले २२-२५ र २३-२५ ले तेस्रो र चौथो सेटले गुमाएको थियो । पाँचौ सेट १५-१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो । खेलका म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भए ।
फाइनल खेल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ ।