प्रचण्डको खुलासा : ‘सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस सहभागी हुँदैछ’




धनगढी, ३० फागुन– सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराउने विषयमा सहमति भइरहेको दाबी गरेका छन् । प्रदेशगत कार्यकर्ता प्रशिक्षणमा रहेका प्रचण्डले सोमबार धनगढी पुगेर यस्तो बताएका हुन् । पत्रकारहरूको प्रश्नमा उनले भनेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा अस्ति छलफल भयो, यसमा माधवजी, पूर्णबहादुर खड्का, प्रधान मन्त्रीजीसमेत गरी हामी बस्यौँ र गम्भीर ढङ्गले नै छलफल गर्यौँ । प्रधान मन्त्रीजीले पनि त्यो कुरा उठाउनुभयो । सात प्रदेशमध्येमा सुदूरपश्चिममा भने कांग्रेस सरकारमा छैन । त्यसैले यो कुरामा एक हिसाबले सहमति भइसकेको छ ।’



सरकारमा सहभागी हुने सहमति भएपनि कति मन्त्रालय, कुन कुन मन्त्रालय भन्नेमा भने सहमति जुट्न बाँकी रहेको प्रचण्डले बताए । ‘सहभागी हुने कुरामा सहमति जुटिसक्यो अब कुनकुन मन्त्रालय र कति मन्त्रालय भन्नेबारे भने सहमति जुट्न बाँकी छ । त्यसमा अब माधवजी पनि सकारात्मक हुनुहुन्छ । उहाँकै दल सबैभन्दा ठूलो छ । त्यो भएर उहाँनै यहाँ निर्णायक बन्नुभएको छ । उहाँले मैले पार्टीमा सल्लाह गरेर खबर गर्छु भन्नुभएको छ । उहाँले सहमति खोज्नुहुन्छ पार्टीमा । त्यसपछि थप प्रक्रिया अगि बढ्छ ।’


यस्तै प्रचण्डले गठबन्धन ठिकठाक ढङ्गले नै अगाडि बढिरहेको दाबी गरे । नेपाली कांग्रेसको मूल नेतृत्व नै गठबन्धन नटुटाउनेमा दृढ रहेको औंल्याउँदै उनले थपे— ‘अरु नेताहरूले जे जे भनेपनि प्रधान मन्त्रीजी गठबन्धनकै पक्षमा हुनुहुन्छ । उहाँले गठबन्धनका दलहरूलाई पिर पर्ने वचन नबोल्नु भनेर निर्देशनसमेत दिनुभएको छ । अहिले गठबन्धन ठिकठाक अगाडि बढिरहेको छ । गठबन्धनबारे केही प्रश्नहरू छैनन् अहिले ।’
प्रचण्डले माओवादी जनयुद्धसँग जोडिएको भनिएको र त्यसको खिल्ली उडाएको भनिएको प्रकाश सपूतको ‘पिर’ गीतबारे भने बोल्न चाहेनन्। गीतबारे तपाईंको धारणा के छ रु भन्ने पत्रकारहरूको जिज्ञासामा उनले भनेका छन्— ‘मैले हेर्न पाएको छैन । हेरेपछि प्रतिक्रिया दिउँला ।’