जनताको मन जित्न सके मत आफै प्राप्त हुने : काँग्रेसका केन्द्रीय सदस्य महर




कञ्चनपुर, २८ फागुन– नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस जनताको मन जितेर मत जित्ने अभियानमा लागेको बताएका छन् । नेपाली काँग्रेसले स्थानीय निर्वाचन लक्षित ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ । एक महिने उक्त अभियानका लागि कञ्चनपुर पुगेका नेता महरले महेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनताको मन जित्न सके मत आफै प्राप्त हुने बताएका हुन् ।



‘काँग्रेस देशको जिम्मेवार पार्टी हो । कम्युनिस्टले दुई तिहाइको सरकार बनाएर पनि केही गर्न सकेनन् । देश अप्ठ्यारो अवस्थामा पुग्दा काँग्रेसले नै सत्ता सम्हाल्नुपर्यो,’ उनले भने । ‘निःशुल्क स्वास्थ्य शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार, उद्यमशीलता र रोजगार : जनताको अधिकार, काँग्रेसको सरकार’ भन्ने आफ्नो एजेण्डा रहेकोले यसको कार्यान्वयन तर्फ लाग्नु आजको आवश्कता रहेको उनले बताए ।


उनले काँग्रेसलाई जन-जनको मन-मनको पार्टी बनाउनुपर्ने धारणा राखेका छन् । एमालेले गफतन्त्रको बाटो अंगालेर लोकतन्त्रको बाटो भुलेको महरको आरोप छ । त्यस्तै अन्य राजनीतिक दलहरूको अस्थिरतालाई पनि जनताले देखेकाले काँग्रेस नै विश्वासिलो पार्टी भएको उनले दाबी गरे । ‘हामी प्रत्येक वडामा पुगेर जनतालाई काँग्रेसले गरेका सकरात्मक कार्यका बारेमा जानकारी गराउने छौँ । हामी धेरै बोल्दैनौँ । भ्रमको खेति पनि गर्दैनौँ । काँग्रेस देशको जिम्मेवार पार्टी हो । त्यसैले जिम्मेवारीपूणर् ढंगले अगाडि बढ्नुपर्छ । हाम्रा काम, कर्म र अभिव्यक्ति पनि जिम्मेवार हुनुपर्छ,’ उनले भने । महरले जनताको मन जित्न सके मात्रै नेपालमा लोकतन्त्र सुरक्षित हुने बताए ।
केही कारणवश चाहेअनुरुप काम गर्न नसके पनि काँग्रेसले आफ्नो अभिभारा नभुलेको उनले बताए । ‘हामी मजदुरको घरमा पुग्ने छौं । बुद्धिजिवीका विचार सुन्ने छौँ । जनताका अपेक्षा सुन्ने छौँ । काँग्रेसका योजना सुनाउने छौँ । अब हामी जनतासँग हुने छौँ,’ उनले भने । राजनीति जनताका लागि गरिने भएकाले काँग्रेस जनताको घरदैलोमा पुग्न चाहेको महरको भनाइ रहेको छ ।