माओवादी सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी निर्वाचित




धनगढी, १७ फागुन– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ (कैलाली) विजयी भएका छन् । सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री समेत रहेका मानबहादुर धामी (सन्तोष) लाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।


प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणालीमार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १० मतमध्ये चौधरी १ सय १४ मत पाउँदै विजयी भएका हुन् भने धामीले ९३ मत पाए ।



त्यसैगरी माओवादीको प्रदेश कमिटी उपाध्यक्षमा अक्कल रावल (अछाम ), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् ।
सचिवमा जनक बुढा (बझाङ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली), रामबहादुर देवकर (कंचनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा ) विजयी भए ।
निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २ सय २३ जना सदस्य मात्रै छनोट गरेको थियो ।