एमसीसी विरुद्ध धनगढीमा विरोध प्रदर्शन





धनगढी, १२ फागुन– एमसीसीको विरोधमा धनगढीमा पनि विरोध प्रदर्शन भएको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा बिहिबार प्रदर्शन गरिएको हो। नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ ।


धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरे ।



‘अहिलेको सत्ता गठबन्धनको एजेण्डा एमसीसी होइन,’ उनले भने, ‘केपी शर्मा ओलीको दम्भ तोड्नका लागि सत्ता गठबन्धन बनेको हो ।’ कोणसभालाई सम्बोधन गर्दै विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिले पनि एमसीसी देशको हितमा नभएकाले फिर्ता पठाइनुपर्ने बताएका छन्।
यस्तै धनगढीमा ८ कम्युनिष्ट पार्टीले पनि एमसीसीविरद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले पनि जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका हुन्। आइतबार संसद्मा एमसीसी सम्झौता पेस हुनुअघिदेखि नै सत्ता गठबन्धनमा रहेर पनि एमसीसीको विपक्षमा रहेका विभिन्न दलका भातृ संगठनहरुले प्रदर्शन सुरु गरेका थिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले देशभर प्रदर्शन गर्दै आएका छन् । संसदमा आज एमसीसीबारे छलफल हुने भनिएकोमा सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिइएको छ । शुक्रबार १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।



