

बैतडी, ९, फागुन– बैतडीको पाटन नगरपालिका वडा नं. ३ झालिमालीमा टिप्पर दुर्घटना हुँदा मृत्यु भएका ३ नै जनाको सनाखत भएको छ भने दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि डडेल्धुराका अस्पताल लगिदैँ छ ।



केही स्थानीय र सिगास माबिका विद्यार्थीहरु उक्त टिप्परमा घर फर्किरहेका थिए । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार तीन जनाको घटनास्थलमै निधन भएको छ । त्यसमध्ये दुई जना विद्यार्थी छन् ।


मृत्यु हुनेहरुमा पाटन नगरपालिका वडा नं. ३ का १२ बर्षिय ज्ञानु बिष्ट र सोही ठाउँका १७ बर्षिय ललित अवस्थी छन् । उनीहरु कच्ची बाटामा टिप्पर चढेर विद्यालयबाट घर फर्किरहेका थिए । त्यस्तै दुर्घटनामा पाटन नगरपालिका वडा नं. ३ कै जनकराज पन्तको पनि मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
‘घाइते भएका ६ जनालाई उपचारका लागि डडेल्धुरा पठाइएको छ,’ उनले भने, ‘कच्ची बाटोको घुम्तिमा टर्निङ नपुगेर टिप्पर ब्याक हुँदा दुर्घटना भएको अनुमान छ ।’ टिप्परमा करिब २५-३० जना रहेको र धेरैले हामफालेर ज्यान जोगाएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।





