धनगढी मेयर एलपीएल : मंगलवारका खेलमा एभरेष्ट र गुरुकुल विजयी




धनगढी, ३ फागुन– धनगढीमा जारी विद्यालय स्तरिय यू-१९ टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो दिनका खेलमा एभरेष्ट एकेडेमी अत्तरिया र गुरुकुल इङ्गलिस स्कुल लम्कीले विजयी सुरुवात गरेका छन् ।


धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगको मंगलबार भएको पहिलो खेलमा एभरेष्टले होलिल्याण्ड इङ्गलिस स्कुललाई ९ विकेटले पराजित गर्यो ।


धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेष्टले ७.५ ओभरमा १ विकेट क्षतिमा सजिलै भेटायो । एभरेष्टको ब्याटिङमा २८ बलको सामना गरेका योगेश भाटले ३ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ४२ रन जोडे । सन्दीप बिष्टले १२ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०.६ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । होलिल्याण्डका सन्दीप औजीले १६ तथा अभिषेक पालले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोष जनक रहेन ।

एभरेष्ट एकेडेमीका लेग स्पिनर कृश ऐरले सर्वाधिक ५ विकेट लिए । १ मेडन ओभर सहित ३ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए । यस्तै गोविन्द बिष्टले दुई तथा दीपक रोकायाले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एभरेष्टका कृश ऐर घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।
मंगलबारनै सम्पन्न दोस्रो खेलमा गुरुकुलले स्टेपिङ स्टोन स्कुल धनगढीलाई पराजित गर्यो । गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिङ स्टोनले १५.५ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनाउन सक्यो । स्टेपिङ स्टोनका लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए ।
गुरुकुलका बलर समिर रानाले तीन विकेट लिए भने बसिर अहमद र विशाल केसीले समान दुई-दुई विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गुरुकुलले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १८५ रन बनाएको थियो ।
गुरुकुलको ब्याटिङमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका खेलाडी समेत रहेका बशिर अहमदले सर्वाधिक ४१ रन बनाए उनले २९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै टिमका लागि सर्वाधिक रन जोडेका थिए ।
त्यस्तै यू-१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनालले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए । दिनेश अधिकारीले १६ र कृश कार्कीले १५ रन योगदान दिए । स्टेपिङ स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, वीरेन्द्र चन्द र दिनेश ओडले समान एक-एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच बशिर अहमद घोषित भए । उनले दुई हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा १० विद्यालयका टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



