कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी, २२ कार्तिक– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नं. ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए । मोटरसाइकलमा ४ जना सवार रहेकोमा अन्य ३ जना सामान्य घाइते भएको उनले बताए ।
घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन् । उनीहरुलाई मोटरसाइल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता विष्टले बताए ।