कैलालीमा स्रोत नखुलेको साढे ८ लाख नगदसहित तीन जना पक्राउ




धनगढी, १५ कार्तिक– कैलाली प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए ।



उनका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका वडा नं. १ कोटदेबलका २२ वर्षीय मुकेश खडका, १८ वर्षीय किरण खडका र २४ वर्षीय नारायण खड्का रहेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।


उनीहरूको साथबाट ३ हजार २ सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन समेत बरामद गरिएको डीएसपी विष्टले बताए ।
नगद र गरगहना सहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।



