नेपाली आविष्कारको सफलता : विद्युतीय मतदान उपकरणले पायो पेटेन्ट

काठमाडौं- नेपालमा विगत १३ वर्षदेखि अनुसन्धान, विकास तथा विभिन्न चरणमा परीक्षण हुँदै आएको विद्युतीय मतदान उपकरणले उद्योग विभागबाट पेटेन्ट दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।

उद्योग विभागको औद्योगिक सम्पत्ति शाखाले उक्त उपकरणलाई पेटेन्ट प्रमाणपत्र प्रदान गरेको हो। पेटेन्टसम्बन्धी विवरण नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ। राजपत्रमा प्रकाशित विवरणअनुसार प्रविधि अनुसन्धानकर्ता तथा आविष्कारक रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालको नाममा पेटेन्ट जारी भएको हो।

Navadurga sun

रिमालद्वयले विगत १३ वर्षदेखि विद्युतीय मतदान प्रविधिको अनुसन्धान, डिजाइन, विकास, परीक्षण तथा प्रयोग गर्दै आएका छन्। नेपालको आवश्यकता र स्थानीय परिवेशअनुकूल विकास गरिएको उक्त प्रविधि राष्ट्रिय पार्टी, विभिन्न संघ–संस्था, विश्वविद्यालय तथा सामाजिक क्षेत्रका निर्वाचनमा प्रयोग हुँदै आएको बताइएको छ।

उक्त प्रविधिले उम्मेदवारको पहिचान नम्बरलाई आधार बनाएर मतदान प्रक्रियालाई विद्युतीय माध्यमबाट व्यवस्थित गर्छ। यसले मतदान प्रक्रियालाई सरल, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य राखेको छ।

पेटेन्ट प्राप्त भएपछि नेपाली आविष्कारक तथा अनुसन्धानकर्तालाई थप ऊर्जा र प्रेरणा मिलेको लक्ष्मण रिमालले बताए। उनका अनुसार स्वदेशमै अनुसन्धान तथा विकास गरिएको प्रविधिले औपचारिक रूपमा बौद्धिक सम्पत्तिको संरक्षण पाउनु महत्वपूर्ण उपलब्धि हो।

यसैबीच, प्राविधिक उपकरण, आविष्कार तथा बौद्धिक सम्पत्तिको संरक्षणका लागि सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न विधेयक तयार गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...