अत्तरिया- कैलालीको अत्तरियाबाट टेस्ट ड्राइभ गर्ने बहानामा लगिएको मोटरसाइकल महेन्द्रनगरमा फेला परेको छ। अत्तरियास्थित बाबु अटो सेल्सबाट टेस्ट ड्राइभका लागि लगिएको सुपप्र ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–स्थित त्रिवेणी चोकको अवय अटो सपको ग्यारेजमा फेला परेको हो।
प्रहरीका अनुसार, मोटरसाइकल लिएर गएका व्यक्ति अटो सपमा पुगेर मोटरसाइकल सर्भिस गर्नुपर्ने भन्दै ग्यारेजमा छाडेका थिए। केहीबेरपछि उनले ‘एकछिन फोन गर्छु’ भन्दै सञ्चालकसँग मोबाइल मागेका थिए। मोबाइल हात परेपछि भने उनी मोटरसाइकल त्यहीँ छाडेर मोबाइल लिएर फरार भएका थिए।

अटो सप सञ्चालकले मोबाइल चोरी भएको जानकारी प्रहरीलाई दिएपछि अनुसन्धानका क्रममा उक्त मोटरसाइकल अत्तरियाबाट टेस्ट ड्राइभको बहानामा लगिएको खुलेको हो।
मोटरसाइकल फेला परे पनि मोबाइल लिएर फरार भएका व्यक्तिको भने अझै खोजी भइरहेको प्रहरीले जनाएको छ।
