अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–४ स्थित हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर एक १५ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ निवासी पुष्पराज चौधरी रहेका छन्। उनी हाल धनगढी उपमहानगरपालिका–७ मनहेरामा कोठा भाडामा लिएर बस्दै आएका थिए।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शनिबार अपराह्न करिब ४ : ३० बजे नदीमा पौडी खेल्ने क्रममा चौधरी डुबेर गम्भीर घाइते भएका थिए। उनीसँगै रहेका धनगढी उपमहानगरपालिका–७ धुइयाघाट निवासी १७ वर्षीय अर्मान राना र सोही वडाको मोतिचोक निवासी १७ वर्षीय किशोर थापाले तत्काल उद्धार गरी निसर्ग अस्पताल, धनगढी पुर्याएका थिए।

तर उपचारकै क्रममा साँझ ५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
