शुक्लाफाँटा निकुञ्जमा हराएका १७ महिला सकुशल उद्धार

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न प्रवेश गरेर सम्पर्कविहीन भएका कञ्चनपुरका १७ जना महिलाको सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका–१९ दशरथ टोलका १४ जना र बेलडाँडी गाउँपालिका–२ का तीन जना गरी १७ जना महिलालाई सोमबार सुरक्षित रूपमा उद्धार गरिएको हो।

Navadurga sun

प्रहरीका अनुसार भीमदत्तका १४ जना महिला आइतबार बिहान मालुमेला पोस्ट हुँदै निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। त्यस्तै बेलडाँडीका तीन जना महिला पनि च्याउ संकलनका क्रममा जंगलमा बाटो बिराएर अलपत्र परेका थिए।

महिलाहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी, निकुञ्ज प्रशासन र स्थानीयवासीको संयुक्त टोली परिचालन गरी खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। आइतबार रातिसम्म उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि सोमबार बिहानदेखि खोजीलाई तीव्र बनाइएको थियो।

बेलडाँडीका महिलाहरू फोन सम्पर्कमा रहे पनि आफ्नो यकिन स्थान बताउन नसक्दा उद्धारमा कठिनाइ भएको थियो। निरन्तर खोजीपछि संयुक्त टोलीले सबै १७ जनालाई सकुशल फेला पारी सुरक्षित रूपमा निकुञ्जबाहिर ल्याएको हो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उद्धार कार्य सफल बनाउन खटिएका नेपाली सेना, नेपाल प्रहरी, निकुञ्ज प्रशासन तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...