अत्तरिया- कैलालीमा यस वर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार १८ हजार हेक्टर क्षेत्रफलमा गरिएको चैते धान खेतीबाट प्रति हेक्टर ३.२ मेट्रिकटनका दरले उत्पादन भएको हो। जिल्लाको दक्षिणी क्षेत्रमा, विशेषगरी बर्खामा बाढी र डुबान हुने स्थानका किसानले बढी मात्रामा चैते धान खेती गर्दै आएका छन्।


किसानहरूले चैते धान भित्र्याइसकेका छन् भने धेरैले सोही खेतमा बर्खे धानको रोपाइँ पनि गरिसकेका छन्। भजनी नगरपालिका–५, लालबोझीका कृषक खोजराम चौधरीका अनुसार चैते धान कटानीसँगै बर्खे धान रोप्ने काम सम्पन्न भइरहेको छ।

यता, कैलालीमा यस वर्षको बर्खे धान रोपाइँ पनि अन्तिम चरणमा पुगेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेक विष्टका अनुसार हालसम्म ९५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ र बाँकी काम यही साताभित्र सकिने अपेक्षा गरिएको छ। जिल्लामा हरेक वर्ष करिब ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ।
