अत्तरिया- अत्तरियाका सक्रिय मानवअधिकार तथा सामाजिक अभियन्ता मनोज दाहाल एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–७१ को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।



अत्तरियामा सम्पन्न एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–७१ को आठौँ अधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।



दाहाल विगत दुई दशकदेखि मानवअधिकार, सामाजिक न्याय, सामाजिक रूपान्तरण, युवा सशक्तीकरण, हक–अधिकार तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। सामाजिक अभियानसँगै उनी व्यवसायिक क्षेत्रमा पनि सक्रिय छन्।
निर्वाचनपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाज परिवर्तनमा युवाको भूमिका निर्णायक हुने बताए। उनले युवाहरूलाई सामाजिक उत्तरदायित्वका साथ परिवर्तनका अभियानमा सक्रिय हुन आग्रह गर्दै सबैको साझा प्रयासबाट मात्रै समतामूलक र न्यायपूर्ण समाज निर्माण सम्भव हुने धारणा व्यक्त गरे।
मानवअधिकारको क्षेत्रमा अझै पनि चुनौतीहरू कायम रहेको उल्लेख गर्दै उनले नेपालको संविधानले प्रत्याभूत गरेका धेरै अधिकार व्यवहारमा सबै नागरिकसम्म प्रभावकारी रूपमा पुग्न नसकेको बताए। संविधानले सुनिश्चित गरेका मानवअधिकारको पूर्ण कार्यान्वयन, संरक्षण र प्रवर्द्धनका लागि एम्नेस्टी इन्टरनेशनल नेपाल समूह–७१ ले निरन्तर आवाज उठाउने र सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।




