धनगढी- कैलालीमा ट्राफिक प्रहरीले राजमार्गमा सवारीसाधन चलाउने चालकहरूले लापसे परीक्षण गर्न थालेकाे छ ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय आइतबार गाेदावरीमा सवारी चालकहरूलाई राेकेर लापसे परीक्षण गरेकाे थियाे । साे क्रममा पाँच जना चालकले लागू पदार्थ सेवन गरेर गाडी चलाएकाे पाइएपछि पक्राउ गरिएको छ ।


जिल्ला ट्राफिक प्रहरीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक रेशम आचार्यले आइतबार ३२ जना चालककाे लागू पदार्थ सेवन गरे/नगरेकाे परीक्षण गरिएको जानकारी दिए ।

उनकाअनुसार उनीहरू मध्ये पाँच जनाले लागू पदार्थ सेवन गरि गाडि चलाएकाे पाइएपछि नियन्त्रणमा लिइएकाे छ ।
ना ५ ख ३०० नम्बर बसका चालक धनगढी-७ पटेलाका रामकृष्ण चाैधरी, सुपप्र ०१००१ ज ००३५ ईभी गाडी चालक बझाङकाे छविसपाथिभेरा गाउँपालिका-३ का सुरेश बाेहरा, सुपप्र ०१००१ च ३६३१ नम्बरको बाेलेराे जिप चालक धनगढीका पहिलाद राना, सुपप्र२००१ ख १२८७ नम्बरकाे बस चालक कञ्चनपुरका महेश बहादुर चन्द र सुपप्र ०२००१ ख ११७९ नम्बरकाे बस चालक बैतडीकाे दाेगडाकेदारका धिरेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
उनीहरू मध्ये चार जना पहाडी रूटमा गाडी चलाउने चालक भएकाे प्रहरीले जनाएकाे छ । उनीहरू पाँचै जनाले लागूऔषध सेवन गरेकाे पाइएकाे प्रहरी निरीक्षक आचार्य बताउँछन् ।
ट्राफिक प्रहरीले उनीहरूलाई कानुनबमोजिम कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको छ ।




