पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका ४ पहाडी जिल्लाका सडक अझै खुल्न सकेन






धनगढी, ८ कार्तिक– केही दिन अगाडी भएकाे बेमौसमी वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेका सुदूरपश्चिमका ४ जिल्लाका सडक अझै खुल्न सकेका छैनन् ।
अझै सडक खुल्न नसकेका पहाडी जिल्लाहरु डोटी, डडेल्धुरा, दार्चुला र बझाङका विभिन्न स्थानमा आएको पहिरोका कारण अवरुद्ध बनेको मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा सर्वसाधारणले सास्ती खप्नु परेको छ । त्यस्तै बाजुरामा भने ४ महिना अघि नै गएको पहिरोले सडक अवरुद्ध बनेकाे छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले डोटी र बझाङमा पहिरोका कारण सडक पूर्ण रुपमा ठप्प रहेको जानकारी दिए । एसपी गाैतमका अनुसार केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. ११ को रडुवाखोला र गजरौलाको बीच भागमा करिब १ सय मिटर सडक पहिरोले भाँसिएकाले यातायात सेवा पूर्ण रुपमा बन्द रहेको छ । सडक अवरुद्ध हुँदा डडेल्धुरासँगै तराईका कैलाली, कञ्चनपुर सहित अन्य पहाडी जिल्लासँग डोटीको यातायात सम्पर्क टुटेको छ । अहिले सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोले बढी प्रभावित बझाङमा पनि पाँच ठाउँमा जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नं. २ को पैरा, केदारस्यु गाउँपालिका वडा नं. १ को देउरा, नारिगौडा, छविसपाथिभरा गाउँपालिका वडा नं. १ को जालीबगर, मौरीबगर र जयपृथ्वी नगरपालिका वडा नं. ७ को कचाली खोलामा सडक अवरुद्ध बनेको प्रहरी उपरीक्षक गौतमले बताए । उनका अनुसार दार्चुलाको महाकाली नगरपालिका वडा नं. ५ किम्तडीमा पनि करिब १२ मिटर सडक भासिएको छ भने अहिले खुलाउने कार्य जारी छ ।
बाजुरामा ४ महिना देखि सडक ठप्प
गत असारमा परेको अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध साँफे–मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । पहिरोले अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड अन्तर्गतको अम्कोट क्षेत्रमा पुनः पहिरो जाँदा सडक खुल्न समय लाग्ने देखिएको छ । सोही सडकखण्डको बाजुगाड र बूढीगंगा नगरपालिका वडा नं. ३ को ताप्रिसेरामा समेत पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायता सेवा पूर्ण रुपमा बन्द भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक खुलाउन पहिरो पन्छ्याउने काम भइरहेको छ तर यातायात सेवा सञ्चालनमा आउन अझै केही समय लाग्न सक्छ ।
डोटी र बझाङमा नेपाल एयरलाइन्सले उडान भर्दै

वर्षापछिको पहिरोले सडक अवरुद्ध भएपछि डोटी र बझाङमा नेपाल एयरलाइन्सले हवाई सेवा सञ्चालनमा ल्याएको छ । धनगढी देखि समिट एयरले यी २ सहित सुदूरपश्चिमका ४ पहाडी जिल्लामा हवाई सेवा दिँदै आएकोमा आइतबार देखि नेपाल एयरलाइन्सले पनि सेवा सञ्चालनमा ल्याएको हो ।
पहाडी जिल्लामा पहिरोका कारण यातायात सेवा बन्द रहेकाले नेपाल एयरलाइन्सले सानो खालको विमान मार्फत सेवा सञ्चालन गरेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले एउटा विमानमार्फत नेपाल एयरलाइन्सले दुवै जिल्लामा उडान भरिरहेको जानाएका छन् ।
आइतबारदेखि नेपाल एयरलाइन्सले हवाई सेवा सञ्चालनमा ल्याएको छ । आइतबार दुवै जिल्लामा एउटा/एउटा र सोमबार दुई/दुई उडान भरेको छ । अब दीर्घकालीन रुपमा सेवा सञ्चालन गर्ने योजना रहेकाे प्रमुख भट्टले बताए ।
समिट एयरले पनि धनगढीबाट बैतडी, बझाङ, डोटी, बाजुरा र अछाममा धनगढीबाट उडान भर्दै आएको छ । नेपाल एयरलाइन्सले यात्रुको चाप अनुसार अन्य जिल्लामा पनि सेवा सञ्चालन गर्ने जनाएको छ ।



