देशभरका इन्जिनियर आन्दोलित





अत्तरिया, ७ कार्तिक- सुदूरपश्चिम प्रदेश लगायत देशभरका इन्जिनियर आन्दोलित भएका छन् । उक्त घटनाको विरोधमा दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) को अगुवाइमा देशव्यापी रुपमा इन्जिनियरहरूको आन्दोलन सुरू भएको हो ।



गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले अमानवीय तरिकाले दुव्र्यवहार गरेपछि देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रिएका हुन् ।


सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले सोमबार २ घण्टा पेन डाउन गर्ने भएका छन् । सोमबार १० देखि १२ बजेसम्म काम नगर्ने नेपाल इन्जिनिर्यस एशोसियसन सुदूरपश्चिमका सभापति लव जोशीले बताए । उनीहरुले आइतबार कानून मन्त्रालयमा बिरोध प्रदर्शनसमेत गरेका छन् ।
यसअघि विज्ञप्ति निकालेर दोषिमाथि कारबाहीको माग राख्दै आन्दोलनको घोषणा गरेको थियो । इन्जिनियरको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने उनीहरुको माग छ । इन्जिनियर्स एसोसिएसनका सातै प्रदेश समितिको अगुवाइमा सम्बन्धित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको जनाएका छन् ।



