कर्मचारी सरुवा प्रक्रिया अब पूर्ण रूपमा डिजिटल

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकास गरेको हो।

मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एपीआई (API) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ।

Navadurga sun

यस प्रणालीमा सरुवाका लागि आवेदन दिने क्रममा ‘फ्ल्यागिङ’ प्रणाली पनि समावेश गरिएको छ। यसले दोहोरिएका, विशेष निगरानी आवश्यक भएका वा थप परीक्षण गर्नुपर्ने आवेदनलाई सहज रूपमा पहिचान गर्न सहयोग गर्नेछ। साथै, कर्मचारीले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ’ प्रणालीमार्फत अनलाइनमै हेर्न सक्नेछन्।

मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि रहनेछ। साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताइन्। उनका अनुसार प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने तथा कर्मचारीले सहज, छिटो र विश्वासयोग्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...