लोकतन्त्र सुदृढीकरणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाँले पत्रकारिताले लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न उल्लेखनीय योगदान पुर्‍याएको बताए। पत्रकारिताको सक्रिय भूमिकाकै कारण मुलुकमा लोकतन्त्र स्थापना र विकासको यात्रा सहज बनेको उनको भनाइ थियो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले पत्रकारिता क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै सुदूरपश्चिम प्रदेशका प्राकृतिक, भौगोलिक तथा पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए। पत्रकारितालाई लोकतन्त्रको मेरुदण्डको रूपमा चित्रण गर्दै उनले समाजलाई सही दिशामा डोर्‍याउन पत्रकारहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा महासङ्घका केन्द्रीय उपाध्यक्ष नीतु पण्डित ले विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनहरूमा पत्रकारहरूले खेलेको भूमिकाको स्मरण गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा सञ्चार क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताइन्।

साधारणसभामा सुदूरपश्चिमका नौ जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकारिता क्षेत्रका चुनौती, पेसागत सुरक्षा, प्रेस स्वतन्त्रता तथा पत्रकारहरूको क्षमता अभिवृद्धिसम्बन्धी विषयमा छलफल गरिएको थियो। महासङ्घका प्रदेश अध्यक्ष भरत शाह को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शिवराज भट्ट ले गरेका थिए।

Loading...