हाल नेपालमा कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ भने अन्य क्षेत्रमा स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


हाल कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।



आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग र कोशी प्रदेशको तराईमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशमा आंशिक बदली र अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही तराई क्षेत्रमा पनि गर्मी बढ्ने अनुमान गरिएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।