

अत्तरिया- कैलालीको टिकापुर मा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै डोलप्रसाद अर्याल ले संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य बिना देशको विकास सम्भव नहुने बताएका छन्।


सभामुख अर्यालले संघीयता सफल बनाउन र विकासका लक्ष्य हासिल गर्न तीनै तहका सरकार तथा व्यवस्थापिकाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले कानुन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सम्बन्धित पक्षका सुझाव र सल्लाहका आधारमा कानुन निर्माण गरिए कार्यान्वयन पनि प्रभावकारी हुने उल्लेख गरे।



उनले संघीय कानुन निर्माण गर्दा एकअर्कासँग नबाझिने गरी कानुनी व्यवस्था तयार गरिने जानकारी दिँदै विभिन्न भेला तथा सम्मेलनबाट प्राप्त निष्कर्षलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा नारायणप्रसाद दाहाल ले नेपालको नेपालको संविधान २०७२ विश्वकै उत्कृष्ट संविधानमध्ये एक रहेको बताउँदै वर्तमान राजनीतिक तथा सामाजिक परिवर्तनको आधार यही संविधान भएको धारणा राखे। उनले लोकतान्त्रिक शासन व्यवस्थामा विधिको शासन सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यसको पालना गर्नु सबैको दायित्व रहेको बताए।
सुदूरपश्चिम प्रदेश सभा सचिवालय को व्यवस्थापनमा सुरु भएको दुईदिने सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा सातै प्रदेशका सभामुख र उपसभामुखहरूको सहभागिता रहेको छ। भिम भण्डारीको अध्यक्षतामा सुरु भएको सम्मेलनमा संघीयता कार्यान्वयन, कानुन निर्माण प्रक्रिया तथा अन्तर व्यवस्थापिका समन्वयका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।