

अत्तरिया- कैलालीको बर्दगोरिया गाउँपालिकामा २ महिने थारु लेहेंगा चोली बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढी कैलाली र बर्दगोरिया गाउँपालिका वडा नं. ४ को कार्यालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको समापन आज एक कार्यक्रमका बीच गरिएको हो ।



तालिम समापन कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको सभाध्यक्षता रहेको थियो भने व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख भुवनराज पन्त प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले सीपमूलक तालिमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न तथा परम्परागत थारु संस्कृति र पहिरनको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।


दुई महिनासम्म सञ्चालन भएको तालिममा १८ जना सहभागीहरूले थारु समुदायको मौलिक पहिरन लेहेंगा चोली बनाउने व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका छन् । तालिमका क्रममा सहभागीहरूले कपडा छनोट, डिजाइन, कटिङ, सिलाइ तथा आकर्षक ढंगले लेहेंगा चोली तयार गर्ने विधिबारे प्रशिक्षण प्राप्त गरेका थिए ।
समापन कार्यक्रममा तालिम केन्द्रका सूचना अधिकारी प्रकाश बहादुर बोहरा, प्रशिक्षक मेनका चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले यस्ता तालिमले स्थानीय स्तरमा सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए ।