अत्तरियामा सुकुम्बासीमाथिको दमनविरुद्ध विरोध कार्यक्रम

लक्ष्मी भट्ट/अत्तरिया- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी सङ्घको आयोजनामा आज कैलालीको अत्तरिया क्षेत्रमा सुकुम्बासीमाथि भइरहेको दमनको विरोध गर्दै र्‍याली तथा कोणसभा सम्पन्न भएको छ।

कार्यक्रममा सहभागीहरूले “क्रान्तिकारी सुकुम्बासी सङ्घ जिन्दाबाद”, “सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापन गर”, “स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर”, “सम्पूर्ण जनतालाई आवासको व्यवस्था गर”, “जोत र भोकका आधारमा जमिनको व्यवस्था गर” तथा “भू-माफियामाथि छानबिन गरी कारबाही गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित बजार क्षेत्रमा र्‍याली प्रदर्शन गरेका थिए।

Navadurga sun

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सेती ब्युरो नम्बर–२ का इन्चार्ज रामबहादुर जाग्रीको नेतृत्वमा सम्पन्न कार्यक्रममा टंक कोइराला, लालमडै मिना कडाल, रामबहादुर धामी, राम भाट, जलु दमाई र तारा बिकलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले सुकुम्बासी बस्तीमाथि भइरहेको सरकारी दमनको विरोध गर्दै सरकार जनविरोधी चरित्रतर्फ उन्मुख भएको आरोप लगाए। उनीहरूले पत्रकारमाथि सरकारी विज्ञापनमा लगाइएको प्रतिबन्धको समेत आलोचना गरे।

कार्यक्रमका संयोजक रामबहादुर जाग्रीले गाँस, बास, कपास, शिक्षा र रोजगारी नागरिकका आधारभूत तथा मानवअधिकारका विषय भएको उल्लेख गर्दै सुकुम्बासीहरूको विस्थापन र बिचल्ली संविधानको भावना विपरीत रहेको बताए। उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्ने धारणा राखे।

वक्ताहरूले देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य रोक्न, आवास र रोजगारीको सुनिश्चितता गर्न तथा भूमिहीन नागरिकहरूको सम्मानजनक बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले गरिब तथा भूमिहीन नागरिकहरू खोला किनार, पहिरोको जोखिमयुक्त क्षेत्र र वन आसपासका क्षेत्रमा बस्न बाध्य भएको भन्दै उनीहरूको सुरक्षित पुनर्स्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...