लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन, विवाद र सुरक्षा घेराबीच सेवा सञ्चालन प्रक्रिया अघि बढ्यो

धनगढी- लामो समयदेखिको राजनीतिक विवाद र तनावका बीच सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालन प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह ले लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका हुन्।

नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला उद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख जुना चौधरी, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायतको सहभागिता रहेको थियो।

Navadurga sun
Godawari sandesh

अस्पताल उद्घाटनलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो। यसअघि नगर प्रमुख शाहीको अवरोधपछि उद्घाटन कार्यक्रम रोकिएको थियो भने यसपटक पनि उनले कार्यक्रम नगर्न आग्रह गरेकी थिइन्। तर प्रदेश सरकारले विरोधकै बीच उद्घाटन सम्पन्न गरेको हो।

सम्भावित तनाव र अप्रिय घटना रोक्न अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो। नगर प्रहरीलाई भने प्रवेशमा रोक लगाइएको थियो। कडा सुरक्षा घेराबीच उद्घाटन सम्पन्न भएपछि औपचारिक समारोह सुरु गरिएको थियो।

Dadeldhura hospital

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नगर प्रमुखको अनुपस्थितिप्रति टिप्पणी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका थिए। लम्कीचुहा–२ का वडा अध्यक्ष सन्तोषकुमार ओलीले प्रहरी घेराबीच अस्पताल उद्घाटन गर्नुपरेको अवस्थालाई दुःखद् बताएका छन्।

संघर्ष समितिका संयोजक पारश देवकोटाले नगर प्रमुखमाथि उद्घाटन रोक्न ‘गुण्डा परिचालन’ गरेको आरोप लगाउँदै जनताको पक्षमा काम गर्न सबै पक्षलाई आग्रह गरेका छन्। उनले अवरोध जारी राखिए थप प्रतिकार हुन सक्ने चेतावनीसमेत दिएका छन्।

यसैबीच, अस्पताल परिसरमा डोजर, एम्बुलेन्स र ट्याक्टर तेर्साएर कार्यक्रम प्रभावित पार्ने योजना रहेको सूचना पाएपछि बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

नगर प्रमुख शाहीले भने प्रदेश सरकारले कानुनी प्रक्रिया र आवश्यक सम्झौताविनै अस्पताल सञ्चालन गर्न खोजेको भन्दै निरन्तर विरोध जनाउँदै आएकी छन्। यद्यपि यसअघि उनले १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्तावमा सहमति दिएकी थिइन्। त्यसपछि संघीय सरकारले लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो।

पछि प्रदेश सरकारको हस्तक्षेपविरुद्ध नगर प्रमुख शाही सर्वोच्च अदालत पुगेकी थिइन्। तर स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको हो।

लम्कीचुहा अस्पताल उद्घाटनसँगै अब स्वास्थ्य सेवा विस्तार र राजनीतिक विवाद दुवै समानान्तर रूपमा अघि बढ्ने संकेत देखिएको छ।

Loading...