

अत्तरिया- कैलालीको अत्तरिया बजारमा स्थानीय युवाहरूले भगवान् हनुमानप्रतिको श्रद्धा, भक्तिभाव तथा सामाजिक सेवाको भावनालाई आत्मसात गर्दै मंगलबार निःशुल्क चिसो सर्वतपानी वितरण गरेका छन् ।


‘बजरंगबली’ भक्त युवाहरूको सक्रियतामा सञ्चालन गरिएको उक्त कार्यक्रम बढ्दो गर्मीका कारण बजार क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणलाई राहत पुगोस् भन्ने उद्देश्यले सर्वतपानी वितरण गरिएको आयोजकहरूले बताएका छन् ।



सर्वतपानी वितरणमा सक्रिय युवा पुष्प अधिकारीले मंगलबारलाई भगवान् हनुमानको विशेष दिनका रूपमा श्रद्धा र उत्साहपूर्वक मनाउँदै प्रसादस्वरूप सर्वतपानी वितरण गरिएको बताए । उनले गर्मीका कारण दैनिक जीवन प्रभावित भइरहेका बेला यात्रु, मजदुर, व्यवसायी तथा सर्वसाधारणलाई केही राहत मिल्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रम समाजसेवी स्थानीय युवा दुर्गा प्रसाद अधिकारीको सहयोगमा सञ्चालन गरिएको हो । धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोडेर गरिएको यस कार्यले बजार क्षेत्रमा सकारात्मक सन्देश फैलाएको स्थानीयवासीहरूको भनाइ छ ।
अत्यधिक गर्मीका बीच चिसो सर्वतपानी पाएपछि सर्वसाधारणले आयोजक युवाहरूको प्रशंसा गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यले समाजमा सद्भाव र सहयोगको भावना अझ मजबुत बन्ने बताएका छन् ।