

धनगढी- धनगढीस्थित नवजीवन सहकारी संस्था को निर्वाचनमा गोपालराज पाठक अध्यक्षमा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी केशवराज मिश्रलाई ३१५ मतले पराजित गर्दै पाठक नेतृत्वमा पुगेका हुन् ।


निर्वाचन समितिका अनुसार पाठकले ४ हजार ७८४ मत प्राप्त गरेका थिए भने मिश्रले ४ हजार ४६९ मत पाए । अध्यक्षका अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मत प्राप्त गरेका थिए । चुनावमा पाठक, मिश्र र शाह प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।


निर्वाचन परिणामअनुसार मिश्र प्यानल पूर्ण रूपमा पराजित भएको छ भने शाह प्यानलबाट एक जना मात्र विजयी भएका छन् । अधिकांश पदमा पाठक प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् ।

उपाध्यक्षमा उत्तम जोशी ४ हजार ३०३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी ईश्वरप्रसाद जोशीले ३ हजार ९०४ तथा उपेन्द्र विष्टले ३ हजार १९५ मत प्राप्त गरे ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा गणेशप्रसाद जोशी ५ हजार १७२ मतसहित निर्वाचित भए । उनका प्रतिद्वन्द्वी चेतराज जोशीले ५ हजार ३३ मत पाए । समितिको सदस्यमा खेमराज पाठक (६०४३ मत) र गणेशप्रसाद पाध्याय (४५५९ मत) विजयी भएका छन् ।
कार्यसमितिका ७ सदस्य पदमध्ये ४ जना पाठक प्यानलबाट, २ जना स्वतन्त्र तथा १ जना शाह प्यानलबाट विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार केशवराज जोशी सर्वाधिक ५ हजार १४३ मतसहित सदस्यमा निर्वाचित भए ।
यस्तै सदस्यमा कोपिला कुँवर (४११२), गणेश बम (३४२६), जयराज जोशी (३२८०), लक्ष्मीराज पन्त (३२७६), स्वतन्त्र उम्मेदवार खेमराज पाण्डेय (३१३२) तथा शाह प्यानलका दिर्घबहादुर शाह (३११८) विजयी भएका छन् ।
धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्था देशकै अग्रणी सहकारी संस्थामध्ये एक मानिन्छ । ४० हजार ८१४ शेयर सदस्य रहेको संस्थाको शनिबार सम्पन्न निर्वाचनमा १५ हजार २४१ मत खसेको थियो ।