

नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसम अस्थिर बनेको छ ।


जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा का अनुसार देशका धेरै पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै वर्षा, मेघगर्जन र चट्याङ्गको सम्भावना बढेको छ ।



विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य पहाडी क्षेत्रमा पनि मौसम बदली रहने अनुमान गरिएको छ। हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने जनाइएको छ ।
यता लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मौसमविद्ले मेघगर्जन तथा चट्याङ्गको समयमा सुरक्षित स्थानमा बस्न, अत्यधिक गर्मीमा धेरै समय बाहिर ननिस्कन तथा प्रशस्त पानी पिउन सुझाव दिएका छन् ।