प्रधानमन्त्री देउवा बाढीपहिरोको क्षति निरीक्षणका लागि सुदूरपश्चिममा





अत्तरिया, ४ कार्तिक- प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि आज सुदूरपश्चिम आउने भएका छन् । देउवाको गृहप्रदेश समेत सुदूरपश्चिम प्रदेश हो ।


टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेतात्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि हुनेछन् ।



काठमाडौंबाट सुर्खेत हुँदै टोली मन्त्री आले र पूर्वमन्त्री बलायरको गृहजिल्ला डोटी जाने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । डोटीमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि उक्त टोली बझाङ हुँदै बैतडी जाने बताइएको छ ।
त्यहाँबाट प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिका हुँदै टोली पूर्वमन्त्रीद्वय साउद र लेखकको गृहजिल्ला कञ्चनपुर जाने सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको टोली कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्याएको क्षतिको निरीक्षण गरेर बेलुकी सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बास बस्ने कार्यतालिका छ । कैलाली कांग्रेसले मौसम अनुकूल भए शुक्रबार प्रधानमन्त्री देउवाले कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाको दक्षिणी भेगको निरीक्षण गर्ने जनाएको छ । प्रधानमन्त्री देउवा शुक्रबार संघीय राजधानी काठमाडौं फर्किने कार्यतलिका छ ।



