सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण, लक्ष्यको ५७ प्रतिशत मात्रै बिरामी फेला

अत्तरिया- सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि नयाँ बिरामी पत्ता लगाउने कार्य चुनौतीपूर्ण बनेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ६ हजार ३८४ नयाँ क्षयरोगी पत्ता लगाउने लक्ष्य राखिए पनि हालसम्म ३ हजार ६५१ जना मात्रै फेला परेका छन्, जुन लक्ष्यको ५७ प्रतिशत हो ।

प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर क्षयरोगको मुख्य केन्द्रका रूपमा देखिएका छन् । कुल बिरामीमध्ये ६८ प्रतिशत यी दुई जिल्लाका मात्रै रहेका छन् । कैलालीमा ४२ प्रतिशत र कञ्चनपुरमा २६ प्रतिशत नयाँ बिरामी भेटिएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

क्षयरोग पहिचानका लागि जीन एक्सपर्ट प्रविधिबाट खकार परीक्षण तथा एआई जडित डिजिटल एक्सरेमार्फत समुदायस्तरमै सक्रिय खोजी अभियान सञ्चालन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत वर्ष १६ हजार २६४ जनाको परीक्षण गर्दा २ हजार २५३ जनामा क्षयरोग पुष्टि भएको थियो ।

उपचारतर्फ भने प्रदेशको अवस्था सन्तोषजनक देखिएको छ । उपचारमा रहेका ८९.९४ प्रतिशत बिरामी सफलतापूर्वक निको भएका छन् । तर, गत आर्थिक वर्षमा ३.८६ प्रतिशत बिरामीको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । अछाम र डोटीमा मृत्युदर तुलनात्मक रूपमा बढी रहेको छ ।

यस्तै, औषधिले काम नगर्ने कडा प्रकारका क्षयरोगका ३५ बिरामी पनि फेला परेका छन् । स्वास्थ्यकर्मीहरूले समुदायमा आधारित खोजी, नियमित स्क्रिनिङ, कुपोषण नियन्त्रण तथा औषधि बीचमै छोड्ने प्रवृत्ति रोक्न आवश्यक रहेको बताएका छन् ।

Loading...