२४ घण्टापछि बझाङ थलारामा पुग्यो औषधी सहित सेनाको उद्धार टोलि





धनगढी, ३ कार्तिक– औषधी सहित नेपाली सेनाको उद्धार टोलि हेलिकोप्टर बाट बझाङ थलारा पुगेको छ । थलारा गाउँपालिका–४ डिख्ला भन्ने स्थानमा २४ घण्टापछि नेपाली सेनाको उद्धार टोली पुगेको हो । मंगलबार विहान भएको घट्ना दिउँसो मात्र थाह भएको थियो । दिउँसै घटना थाहा भए पनि मौसम खराबीका कारण उद्धार टोली जान सकेको थिएन ।


सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले नेपाली सेनाको हेलिकप्टर सुरक्षाकर्मी राहत र उद्धार सामग्री सहित डिख्ला पुगेको बताए । ‘यताबाट केही राहत सामग्री, उद्धार सामग्री बिहानै पठाइएको छ, बझाङ सदरमुकामबाट सुरक्षाकर्मी सहितको टोली डिख्ला गएको छ’ एसएसपी चन्दले भने ।



थलारा गाँउपालिका ४ डिख्लामा सोमबारराति पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए । उनीहरुको अवस्था अहिले सम्म अज्ञात रहेको छ । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसेका छन् ।
बझाङ जिल्लाभरी सेती नदी तथा सहायक नदी खोलाहरुले १ मोटरेवल पुल र २ वटा झोलुङ्गे पुल बगाएको छ । जयपृथ्वी नगरपालिका–३ मा बग्ने डुङ्गीखोलाले डुङ्गी र मष्टा गाउँपालिका जोड्ने झोलुङ्गे पुल बगाएको छ ।
थलारा गाउँपालिका–९ मा रहेको थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिका जोड्ने झोलुङ्गे पुल सेती नदीले बगाएको छ । तलकोट गाउँपालिका रातापानीमा रहेको काठको मोटरेवल पुल सेती नदीको बहाव बढेपछी बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।



