

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।



महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम छ । यसको प्रभावले हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।


लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहित अन्य प्रदेशका हिमाली तथा पहाडी केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति भने कोशी प्रदेश लगायत देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा मधेससहित अन्य पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।





