अध्यादेशपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नेतृत्व संकट, शैक्षिक कार्यक्रम प्रभावित हुने संकेत

अत्तरिया- सरकारले जारी गरेको “सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” राजपत्रमा प्रकाशित भएसँगै सुदूरपश्चिमको बहुप्रतीक्षित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नियमित गतिविधिमा अवरोध देखिएको छ।

अध्यादेशको बुँदा नम्बर १०८ अनुसार विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार तथा पदपूर्ति समितिका संयोजक स्वतः पदमुक्त भएका छन्। खुला प्रतिस्पर्धाबाट हालै नियुक्त भएका यी पदाधिकारी हटेसँगै विश्वविद्यालय पुनः नेतृत्वविहीन बनेको हो।

Navadurga sun

विश्वविद्यालयले एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढाइरहेको थियो। तर नेतृत्व परिवर्तनसँगै शैक्षिक तथा प्रशासनिक प्रक्रिया प्रभावित हुने देखिएको छ।

हालसम्म विश्वविद्यालयले एमबीबीएस (५० सिट), बीएस्सी नर्सिङ (३० सिट), बीएस्सी एमएलटी (२० सिट) र ब्याचलर इन अप्टोमेट्री (२० सिट) सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको थियो।

त्यस्तै, ७७ जना प्राध्यापक तथा उपप्राध्यापक करारमा नियुक्त गरिसकिएको र शिक्षण अस्पताललाई ३०० शय्यामा स्तरोन्नति गर्ने प्रक्रिया पनि अघि बढाइएको थियो।

चिकित्सा शिक्षा आयोगको अनुगमन टोली आगामी जेठ महिनामा विश्वविद्यालय र शिक्षण अस्पतालको मूल्यांकन गरी शैक्षिक कार्यक्रम स्वीकृत गर्ने तयारीमा रहेको जनाइएको छ। तर नेतृत्व रिक्तताका कारण उक्त तयारी समयमै पूरा हुनेमा शंका उत्पन्न भएको छ।

लगातार तीन पटकको विज्ञापनपछि मात्र उपकुलपति नियुक्त भएको अवस्थामा पुनः पदमुक्त भएपछि विश्वविद्यालयमा प्रशासनिक अस्थिरता बढेको छ। यसले दीर्घकालीन शैक्षिक योजना र स्वास्थ्य शिक्षा विस्तारमा अनिश्चितता थपेको सरोकारवालाहरूको भनाइ छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...