धनगढीमा विश्व प्रेस स्वतन्त्रता दिवसमा ऐक्यबद्धता र्‍याली, प्रेस स्वतन्त्रता जोगाउन एकजुट हुने आह्वान

धनगढी- विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा धनगढीमा ऐक्यबद्धता र्‍याली आयोजना गरिएको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीको आयोजनामा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने मूल नारासहित र्‍याली निकालिएको हो ।

र्‍यालीमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । र्‍यालीपश्चात आयोजित सभामा वक्ताहरूले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको पेशागत सुरक्षामा जोड दिएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम संयोजक मनमोहन स्वाँरले पत्रकारहरूको हकहित र पेशागत सुरक्षाका लागि एकजुट भएर सशक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले प्रेसमाथि देखिएका चुनौतीहरूलाई सबै पत्रकार मिलेर सामना गर्नुपर्ने बताए ।

इन्सेकका प्रदेश संयोजक खड्कराज जोशीले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै कुनै पनि बहानामा यसलाई नियन्त्रण गर्ने प्रयास स्वीकार्य नहुने धारणा व्यक्त गरे । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका अधिकृत विदेशराम चौधरीले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गतिविधि अस्वीकार्य रहेको बताए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायरले पछिल्लो समय प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दै गएको भन्दै सञ्चारकर्मीहरूलाई आचारसंहितामा आधारित रहेर काम गर्न आग्रह गरे ।

कार्यक्रममा महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारहरूको हकहितको पक्षमा महासंघ सधैं उभिँदै आएको उल्लेख गर्दै वर्तमान सरकारले प्रेसमाथि चुनौती थपिरहेको आरोप लगाए । उनले पत्रकारहरूलाई सामूहिक रूपमा एकजुट रहन आग्रह गरे ।

Loading...