कैलालीको ठूलीगाडमा आएको बाढीमा २ जना फसे




धनगढी, २ कार्तिक– कैलालीको ठूलीगाडमा आएको बाढीमा २ जना फसेका छन् । डोटी र कैलालीको सिमना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्-श्रीमती फसेको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रतीक बिष्टले स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जानकारी दिए ।


उनीहरुको उद्दारका लागि हेलीकप्टर धनगढी पुगेको भएपनि प्रतिकुल मौसमका कारण समस्या भएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए । यस्तै टीकापुरमा कर्णाली नदी गाउँ पसेको छ । टीकापुर नगरपालिका–५ को साइपुरमा नदी टतीय क्षेत्रमा पसेको बताउँदै प्रभावितहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।



