बैतडीका १६ वर्षीय रुपेश भुलको माया मेट्रो अस्पतालमा निःशुल्क सफल शल्यक्रिया

Dadeldhura hospital

बैतडी-  बैतडीको दशरथचन्द नगरपालिका–निग्लासैनका १६ वर्षीय रुपेश भुलको धनगढीस्थित माया मेट्रो अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको छ।

भारतको जम्मु–कश्मीरमा साइकलबाट लडेर गम्भीर घाइते भएका रुपेशलाई बेहोस अवस्थामा भेटिएको थियो। दुर्घटनामा उनका दुवै हात र खुट्टा भाँचिएका थिए। प्रारम्भिक रूपमा भारतकै एक सरकारी अस्पतालमा भर्ना गरिए पनि एक हप्तासम्म उपचारमा ढिलाइ हुँदा संक्रमण बढ्दै गएको थियो।

त्यसपछि परिवारले उनलाई नेपाल ल्याएर गत चैत ८ गते धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गराएका थिए। आर्थिक अवस्था कमजोर रहेका कारण अस्पताल प्रशासन र विशेषज्ञ चिकित्सकबीचको छलफलपछि निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।

अस्पतालका पीआर म्यानेजर जगत महतका अनुसार सफल उपचारपछि रुपेश करिब तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य लाभपछि घर फर्कन पाउँदा रुपेश निकै खुशी भएका छन् र उपचारमा संलग्न चिकित्सक टोली तथा अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेका छन्।

रुपेशका बुबाले भारतमा उपचार सम्भव नभएपछि नेपाल ल्याइएको र आफ्नै प्रदेशमा उपचार सफल भएपछि परिवारमा खुशी छाएको बताए। उनले अस्पतालको सेवाप्रति सन्तुष्टि पनि व्यक्त गरेका छन्।

रुपेशको उपचारमा हार्डजोर्नी विशेषज्ञ डा. विकास पाण्डे, डा. रितेश पोखरेल लगायतको टोली संलग्न रहेको थियो।

Loading...